गलकोटमा आजदेखि २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

92

थम्मन थापा बागलुङ
असोज २३
बागलुङ । स्पोर्टस फर हेल्थ, स्पोर्टस फर नेशन भन्ने मुल नारा सहित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण आजदेखि बागलुङमा सुरु हुँदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि १० टोलीले सहभागिता जनाउने भनिएपनि अन्तिम समयमा प्रदेश १ उपस्थित नभएपछि ९ टिमले प्रतियागितामा सहभागिता जनाउने छन् । नेपाल भलिबल संघको आयोजना, बागलुङ जिल्ला भलिबल संघको व्यवस्थापन र गलकोट नगरपालिकाको सहयोगमा संचालन हुन लागेको प्रतियोगिता २७ गतेसम्म संचालन हुनेछ । लिगकम नक आउटका आधारमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज पोल ए तर्फ विभागिय टिम एपिएफ विरुद्ध प्रदेश नम्बर ७ र पोल वि तर्फ प्रदेश ६ विरुद्ध विभागिय टिम नेपाल पुलिसले प्रतिस्पर्धा गर्ने जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दिप पन्तले जानकारी दिए । यस्तै आजै हुने दोस्रो खेलमा पोल ए तर्फ विभागीय टिम नेपाली आर्मी विरुद्ध गण्डकी प्रदेश र एपिएफ विरुद्ध प्रदेश नम्बर ६ विच खेल हुने छ । प्रतियोगिता अन्तरगत ए पोलमा विभागिय टिम एपिएफ, आर्मि, प्रदेश ७, ६ र ४ रहेका छन्भने वि पोलमा विभागिय टिम नेपाल पुलिस, प्रेदश २, ३ र ५ रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । संघले यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ । प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।