वामदेवलाई संसदमा ल्याउन रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

90

असोज २३
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे । उनले आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि दावी गरे । पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै आफूले २० वर्षदेखि चुनाव जित्नु रहेको भन्दै मानन्धरले उपनिर्वाचनमा निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । ‘म २०४९ सालमा पार्टीको तर्फबाट वडाध्यक्ष जितेको हुँ । ०७० सालमा सांसद भएको हुँ र अहिले ०७४ सालमा पनि सांसद भएको हुँ ।’ नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताए ।