एक सय ४४ मेट्रिक टन चिनी नेपालगन्ज भन्सारमा रोकियो

82

नयाँ पत्रिका दैनिक- असोज २४,
बाँके । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो । मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए । ‘सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने ।

६७ लाखको चिनी
व्यापारीले दसैँ र तिहारका लागि दसैँअघि नै चिनी खरिद गरेका थिए । भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात् ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको बताए । उनले नेपालगन्ज भन्सारमा मात्र नभई वीरगन्ज, भैरहवा, धनगढी, विराटनगरलगायत भन्सारमा पनि चिनी थन्किएको बताए । भन्सार महाशाखाले नेपालगन्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन आएको छैन ।

प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा बिक्री गर्दै व्यापारी
भारतबाट चिनी आयातमा सरकारले रोक लगाए पनि नेपालगन्जमा चिनीको मूल्य नबढेको व्यापारीले दाबी गरेका छन् । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गर्दै आएको नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ९चुन्ना०ले बताए । ‘क्वालिटीको आधारमा व्यापारीले चिनीको मूल्य तोक्ने गरेका छन् । चिनी हेरेर कसैले धेरै र कसैले कम मूल्यमा बिक्री गरिरहेका छन्,’ नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने । चुन्नाले भारतबाट बढी मूल्यमा खरिद गरेर नेपालमा कम मूल्यमा बिक्री गर्दै आएको बताए । भारतमा ३० भारतीय रुपैयाँ अर्थात् नेपाली ४८ रुपैयाँमा खरिद गरेर ल्याउँदा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्दा महँगो परेको उनको भनाइ छ । ‘हामीले ग्राहकलाई भ्याट बिल दिँदा ७२ रुपैयाँ प्रतिकिलाको दरले दिन्छौँ, तर थोकमा प्रतिकिलो ६८ रुपैयाँमा बिक्री गर्छौँ,’ उनले भने ।

दसैँ र तिहारमा चिनी अभाव नहुने व्यापारीको दाबी
सरकारले भारतबाट चिनी ल्याउन रोक लगाए पनि नेपालगन्जमा प्रशस्त चिनी मौज्दात रहेको व्यापारीले बताएका छन् । नेपालगन्ज वितरण संघका अध्यक्ष अमित बस्नेतले दसैँ र तिहारलाई पुग्ने चिनी नेपालगन्जमा मौज्दात रहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि नेपालगन्जमा नेपाली, भारतीय र पाकिस्तानी चिनी मौज्दात रहेको बताए । उनले मागअनुसार नेपाली चिनी किन्न पाएको बताए । ‘तीन–चार महिनालाई पुग्ने चिनी नेपालगन्जका व्यापारीसँग छँदै छ, नेपाली चिनी पनि मागअनुसारको पाइराखेका छौँ,’ उनले भने । दसैँ र तिहारमा चिनी अभाव नहुने उनीहरूको दाबी छ ।