पर्यटक लोभ्याउन अर्गानिक खाना

133

असोज २५,
पर्वत । विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न मात्र पाहुनालाई खुवाउने गरी स्थापना गरिएको थियो । स्थानीय उत्पादनको स्वाद चाख्नको लागि पनि महाशिलाको होमस्टेमा गएर बस्नेको लहर बढ्दै गएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिनुभयो । गाउँपालिकाले दुक्तान र लामतुङका ५० परिवारलाई होमस्टे सञ्चालनका लागि तालीमसमेत प्रदान गरेको थियो । होमस्टे सञ्चालकलाई पाहुनालाई गर्ने सेवा र सत्कारदेखि खाना बनाउने सीपको विकास गर्नको लागि तालीम प्रदान गरिएको हो ।

होमस्टेमा घरमै उत्पादन भएको कोदो, मकै, चामल, गहुँ, जौलगायत गाउँमै अर्गानिकरुपमा उत्पादन गरिएका तरकारीबाट विभिन्न २७ प्रकारका खाना तयार गर्ने गरिएको छ । होमस्टेमा गुरुङ र मगर संस्कृतिको अवलोकन तथा जानकारी गराउनुका साथै गुरुङ र मगर जातिको चालचलन, रीतिरिवाजसहित सालैजो र सोरठी सङ्गीतका प्रस्तुति पनि देखाउने व्यवस्था गरिएको छ । गाउँपालिकाका प्रवक्ता उचै भन्नुहुन्छ, “अन्य ठाउँको भन्दा फरक शैलीको होमस्टे बनाउन सकियो भने पाहुना आउँछन् भन्ने अनुमान गरेर नै हामीले यहाँको होमस्टेमा अर्गानिक र स्थानीयरुपमा उत्पादन हुने खाना मात्र पाहुनाको लागि तयार गर्न राम्रो हुने ठानेका हौँ ।” सदरमुकामबाट टाढा रहेको महाशिलामा पर्यटकलाई आकर्षित गरी गाउँपालिकालाई पर्यटकीय र धार्मिकस्थलका रुपमा चिनाउन होमस्टे सञ्चालन गरिएको हो । अहिलेसम्म सञ्चालनमा आएका २१ होमस्टमध्ये एउटा घरमा पाँच जना पाहुना राख्न सक्ने क्षमता छ । महाशिलामा जिल्लामा नै प्रख्यात रहेका मुख्य पर्यटकीय तथा धार्मिकस्थल छन् । लुङ्खुको महाशिला, पैंयूकोट, चिसापानी लेक, फलामखानीको अवलोकन, गङ्गाधर गुफा, बसाह मन्दिर महाशिलाका मुख्य धार्मिक तथा पर्यटकीयस्थल हुन् ।