न्ह्यज्या खलःको ५७ औं वर्षगाँठ मनाइयो

117

केके मानन्धर
असोज २५,
भक्तपुर । भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ५७ औं वर्षगाँठ मनाएको छ । मध्यपुर थिमिको बालकुमारीमा भव्य समारोहकाबीच खलःले कार्यक्रम सम्पन्न गरेको हो । तात्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध २०१८ सालमा गठन गरिएको न्ह्यज्या खलःले निरन्तर रुपमा भाषा, साहित्य, शिक्षा तथा सामाजिक चेतना जगाउने काम गर्दै आएको छ । विशेषगरी भक्तपुरका नागरिकहरुलाई यो संस्थाले सामाजिक उत्तरदायित्व बहन गराउँदै शैक्षिक जागरणमार्फत क्षेत्रगत विकासमा भूमिका निर्वाह गरेको छ । जिल्लामा न्ह्यज्या खलः जस्तै विराट नेपालभाषा साहित्य सम्मेलन गुथि तथा नेपालभाषा साहित्य तःमुँज्या पनि सक्रिय छ । त्यस मध्ये न्ह्यज्या खलः भन्दा विराट गुथि केहि महिना र तःमुँज्या १९ वर्ष कान्छो संस्था हो । यी संस्थाहरुले नेपालमा बोलिने मातृभाषा, साहित्यसँग सम्बन्धित यावत पक्षलाई सम्बद्र्धनमा टेवा पु¥याउँदै आएको छ । कार्यक्रममा साहित्यकार त्रिरत्न शाक्यले मातृभाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘म नेवाः देय् दबूको विधान बनाउने क्रममा २५ जिल्ला भ्रमणमा गएको छु । ती सम्पूर्ण ठाउँमा मातृभाषा प्रयोग सम्बन्धिको समस्या देखेँ ।’ साहित्यकार शाक्यको भनाई थियो ।

हुन पनि देशभर पछिल्लो समय मातृभाषीको संख्या दिनानुदिन कम हुँदै गएको छ । संविधानको धारा ३१ को उपधारा ५ बमोजिम मातृभाषा शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने विधेयक पारित भएको छ । संघीय संसद्ले शिक्षा नीतिअनुसार प्रदेश र स्थानीय सरकारले पनि आवश्यक कानुन बनाउन सक्ने गरी मातृभाषा शिक्षालाई पारित गरेको हो । संघीय सरकारले मातृभाषा सम्बन्धिको विधेयक पारित गरेपनि व्यवहारमा यसको प्रयोग न्यून देखिन्छ । कतिपय अवस्थामा मातृभाषामा पढ्ने विद्यार्थी खोज्नुपर्ने अवस्था छ । एक त शिक्षामा अनिवार्य गरेको छ भने अर्कोतर्फ मातृभाषालाई माध्यम भाषाको रुपमा पनि प्रयोग गर्न सकिने प्रावधान बनाएको छ ।

त्यस्तै, प्रदेश नं. ३ का सांसद् डा. राजेन्द्रमान श्रेष्ठले स्थानिय निकाय र प्रदेशबीचको समन्वयको आधारले विकास निर्माणलाई तीब्र बनाउनुपर्नेमा जोड दिए । संस्थाका सचिव सुरेन्द्र किलंनः श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेपालभाषाका कविता वाचन, नाटक मन्चन, प्रहसन तथा सांस्कृतिक प्रस्तुती देखाएको थियो । सुशीला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ, साहित्यकार डा. योगेन्द्र प्रधान, वडाध्यक्ष कुमार श्रेष्ठ, कृष्णभक्त बोडे, साहित्यकार, समाजसेवी, कलाकारहरुको सहभागिता थियो ।