पर्वतमा नयाँ पदमार्गको खोजी गरिदैं

374

असोज २९,
पर्वत । पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन बहलाउनुभयो ।
विश्वकै उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण पदमार्गअन्तर्गत नयाँ पर्ने वीरेठाँटी–घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न विशिष्ठ पाहुना रातभर चिसोमा बसेर बिहान मनोरम दृश्यावलोकन गर्नुभयो । देउपुरका अगुवा एवं इञ्जिनीयर मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्दैै अध्यक्ष तिमिल्सिनाले भन्नुभयोे, “भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसँग जोड्न सकेमा यसलाई वैकल्पिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ ।” भमरकोटसँंगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँ भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुङ्गालगायतका ठाउँमा घरबास९होमस्टे० सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन उहाँले सुझाव दिनुभयो ।

घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखियो” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भन्नुभयो, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था रहेको छ । त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तव्य हुनसक्ने पर्वत– भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्काले बताउनुभयो । “पोखराबाट एक घण्टा दूरी लामो पनि होइन”, उहाँले भन्नुभयो, “पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।”