पर्यटकको पर्खाइमा ‘होमस्टे’

100

असोज २९,
झापा । पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले पर्यटक पर्खिरहेका छन् । सामाजिक अगुवा बृहस्पति खतिवडाका अनुसार देवानका अन्तिम राजा मधेशी हिलिहाङको दरबार र सैनिक अखडाको भग्नावशेष बेँसीबजार नजिकै देवानगढीमा भेटिएको छ ।

ढुङ्गाका दुर्ग, सेनाको टुँडिखेललगायतका पुरातात्विक महत्वका वस्तु फेला परे पनि हालसम्म यसको आधिकारिक अनुसन्धान हुन सकेको छैन । बहुवन सामुदायिक वनबाट देवानगढी हुँदै भाषाशास्त्री महानन्द सापकोटाको शालिक रहेको देवानछापसम्मको चार किलोमिटर लामो ‘महानन्द पदमार्ग’ समेत पहिल्याइएको छ । बेँसीबजारमा अग्र्यानिक खानेकुरा पाइन्छ । चरा, मृग र मयूरको स्वर्ग नै मानिने यो ठाउँ दृश्यावलोकनका लागिसमेत उपयुक्त रहेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ ।