सरकारी अस्पतालको प्रयोगात्मक कक्षामा दुई करोड ५५ लाख ४० हजार आम्दानी

94

कात्तिक ५,
चितवन । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ ।

अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि आउने गर्दछन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसार यहाँका दुई निजी कलेजले सरकारी अस्पतालमा प्रयोगात्मक कक्षा गर्ने गरी नर्सिङ विषय पढाउने गरेका छन् । नर्सिङमा प्रविणता प्रमाणपत्र तह सञ्चालन गरेको आइओएमटीले गत वर्ष एकमुष्ट रु १९ लाख ९५ हजार र स्नातक तह सञ्चालन गरेको श्री मेडिकल एण्ड टेक्निकल कलेजले रु ५४ लाख ४५ हजार बुझाएका छन् । यस वर्ष उनीहरुले पाँच प्रतिशत थप रकम बुझाउने छन् । यसका अतिरिक्त ती कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि पठाउँदा अन्य सरह शुल्क तिर्नुपर्ने हुन्छ ।

अस्पतालका अनुसार अनमिका विद्यार्थीले रु दुई हजार ५००, प्रविणता प्रमाणपत्र तहले रु चार हजार ५००, स्नातक तहका विद्यार्थीले रु छ हजार र स्नातकोत्तर विद्यार्थीले रु सात हजार मासिकरुपमा भुक्तानी गर्ने गर्छन् । गत वर्ष प्रयोगात्मक कक्षाको मात्र रु एक करोड ८१ लाख र दुई नर्सिङ कलेजले एकमुष्ट रकम बुझाएका थिए मेडिकल सुपरिटेन्डेन्ट पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिरामी उपचारका लागि अस्पताल आउने गर्दछन् । अस्पतालमा ६०० श्यया छ । जसको ८५ प्रतिशत हाराहारीमा विरामी भरिने गर्दछ ।

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर अस्पताल हो । उक्त अस्पतालका प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार वार्षिक १५ हजार आमाले बच्चा यही अस्पतालमा जन्माउँछन् । अधिकारीले प्रसूति विभागमा बिरामीको चाप बढी हुने भएकाले देशका विभिन्न ठाउँका स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भरतपुर अस्पताल उपयुक्त मानिएको बताए । प्रयोगात्मक कक्षाबाट आम्दानी राम्रो हुँदा अस्पताल सञ्चालनमा टेवा पुगेको छ ।