साझाको विद्युतीय बस सञ्चालनमा

122

कात्तिक ७,
काठमाडौं । साझा यातायातले मंगलबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं चढेर उक्त बसको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन् । बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा भएको यस्तो उत्पादनले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक प्रभाव पार्र्ने बताए । उनले मुलुकमा पेट्रोलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिनुपर्ने धारणा राखे । साझाले पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।विद्युतीय बस सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । २० जना क्षमताको सो विद्युतीय बस अपांगतामैत्री छ भने क्यामराले यात्रुको निगरानी गर्नेछ । सोे विद्युतीय बसमा प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेकपा नेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरका नगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका नगरप्रमुख चिरिबाबु महर्जन तथा साझाका पदाधिकारीलगायतले यात्रा गरेका थिए ।