तुरतुरे तालमा आन्तरिक पर्यटकको घुइचोँ

93

थम्मन थापा
कार्तिक १२,
बागलुङ । बागलुङको तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढेका छन । जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा पर्ने तुरतुरेमा गत भदौ ३० गते राती पहाड खसेर बडिगाड खोला थुनिएपछि बनेको उक्त तालले अहिले आन्तरिक पर्यटकलाई आकर्षण गर्दै आईरहेको छ । पानी ओभर फ्लो भएर बगेपनि पानी जम्मा भएर बनेको ताल आन्तरिक पर्यटकको रोजाई बनेको छ । पहाड खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्व भएको थियो । दशैं अगावै पहिरो पन्छाई सडक सुचारु गरेपछि अहिले ताल हेर्नेको संख्या दिनहुॅ बढ्दै गएको बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिए । सडक किनारमा रहेको तालमा पुग्ने र सेल्फी खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको लर्को नै रहेको छ । हिजोआज उक्त ताल हेर्न र रमाउनको लागि दिनहुँ बागलुङ छिमेकी जिल्ला गुल्मी लगायत अन्य जिल्लाबाट सयौंको संख्यामा त्यहॉ आन्तरिक पर्यटकहरु आउने गरेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिए । तुरतुरे ताल हेर्न युवा पुस्ता देखि वृद्व वृद्वासम्म त्यहॉ जाने गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्गको आडैमा पर्ने उक्त ताल हेर्न र रमाउन लोकमार्गमा गुड्ने सवारीहरु समेत रोकेर यात्रुहरूले तालको अवलोकन गर्ने गरेका छन् । ताल हेर्न र रमाउन पैदल यात्री मोटरसाईकल र स्कुटीमा बढि मात्रामा युवा पुस्ता आउने गरेको स्थानियले बताए ।