सिङ्गो बस्ती नै तरकारी खेतीमा

572

कार्तिक २१,
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् । लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ ।” स्थानीय तरकारी खेती गर्दै आएका किसान हरिराम चौधरीले भन्नुभयो, “अरु खेतीभन्दा यसमा बढी मुनाफा भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका हरिराम चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् ।

“राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो ।” उहाँले भन्नुभयो, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।”
कुनै बेला आर्थिक अवस्थाले समस्या रहेको बताउँदै चौधरीले तरकारी खेतीबाट कमाइले धेरै सम्पति जोडेको बताउनुभयो ।
“शुरुमा त धेरै समस्या थियो, जब मैले तरकारी खेती शुरु गरे राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।” उहाँले भन्नुभयो, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाए ।” जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । “तरकारीको कमाइले ट्र्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे ।” उहाँले भन्नुभयो, “मिहेनत गरे विदेशिनु पर्दैन ।” उहाँले तरकारी खेतीबाट वार्षिक रु १२ देखि १३ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । रासस