कविताः सम्झना पुर्खाहरूको

176

-जानु काम्बाङ्ग लिम्बुु,

टाढा…. निक्कै टाढा छ
सम्झनाको देश
जहाँ नेर, मेरा पुर्खाहरूले
रोपेको ईतिहाँस
रातो पप्पी फूल भएर फूलेको छ ।

हो त्यहि नेर
कहिले पुरानो हुन नसकेको
एउटा लडाईंको कथा काँधमा बोकेर
मेरो बिर गोर्खाली पुर्खा अझै उभिएको देख्छु
त्यो आँखैले नभ्याउने
दुर पप्पी फूल्ने देशको सिमाना नेर

म, वर…निक्कै
वरको आधुनिक युगको नयाँ गोर्खाली
मेरा पुर्खाहरू उभिएको युद्द मैदान
भन्दा फरक युद्द मैदानमा उभिएकोछु

भलै, नहोला म सँग
बम, गोला बारूद,
बन्दुक र रैफ़लका पड्कने गोलीहरू
तर, त्यो बेलाको, विश्व युद्द भन्दा कम छैनन्
मेरा पनि यो जिन्दगीका कठिन अनि कठोर युद्दहरू

तै पनि….
यो दिन र रातको दोषाधमा
घाईते भै ढलेका मेरा सपनाहरू
मनको रित्तो बम्करमा थुनेर भए पनि
म मेरा बिर गोर्खाली पुर्खाहरूलाई सलाम गर्छु

किन कि
उनीहरूले नै लडाईं बाट बचाएर ल्याएको
एक थोपा सुद्द रगत
अझै मेरो रगरगमा दौडी रहेकोछ
र त म, अझै गोर्खाली भनेर चिनिएकोछु ।।

-ताप्लेजुङ्ग हाल बेलायत