क्यान्सर रोगीहरुको संख्या दिनानुदिन बढ्दै

96

कार्तिक २८,
भक्तपुर । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाले प्रकाशन गरेको आशा स्मारिकाको १३औं अंक बिमोचन गरिएको छ । स्मारिकाको प्रतिनिधीसभा सांसद महेश बस्नेतले बिमोचन गर्नुहुँदैं क्यान्सर रोग भयावह रोग भएकोले उपचार खर्च र प्रक्रिया समेत असहज भएको हुँदा सरकारले उपचारका लागि सहुलियत प्रदान गरेको बताउनुभयो । उहाँले समयमै क्यान्सर रोग पत्ता लागेको अवस्थामा नेपालमै उपचार सम्भव रहेको बताउनुभयो । सांसद बस्नेतले नेपालीहरुको दैनिक जीवनशैली बदलिदैं गएको र खानपान तथा रहनसहनले क्यान्सर रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपचार प्रणालीलाई प्रभावकारी बनाउन महंगा उपचार सामग्रीमा सरकारले सहुलियत दिएर सस्तोमा उपचार गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका केन्द्रिय महासचिव बिमल कुमार होडाले जिल्ला शाखाले नियमित बार्षिक प्रकाशन गर्दै आएको आशा स्मारिकाले जनसचेतिकरण अभियानमा नयाँ आशा जगाएको बताउनुभयो । उहाँले सरकारले दिदैं आएको सहुलियत रकम वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो । सो अवसरमा भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले क्यान्सर रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएकोले उपचारात्मक भन्दा पनि जनसचेतिकरण अभियानलाई बढि सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपचार सामग्री र औषधीहरु महंगो हुँदा क्यान्सर रोगीलाई उपचार गर्न महंगो पर्ने मात्र नभै उपचार गर्न समेत समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक धनमान श्रेष्ठले आशा स्मारिकाको माध्यम मार्फत जनचेतना अभिवृद्धि गर्ने कार्य प्रभावकारी रुपमा गरिएको भएपनि खानपान, आहारविहार र अहिलेको प्रतिकुल वातावरणका कारण क्यान्सर रोग भयावह बन्दै गएको बताउनुभयो । उहाँले आशा स्मारिकामा क्यान्सरका बिज्ञ तथा बरिष्ठ डाक्टरहरु, क्यान्सरबाट प्रभावित बनेका चर्चित कलाकार, स्थानीय जनप्रतिनिधिलगायत सामाजिक अभियन्ताहरुको जानकारीमूलक लेख, रचना समावेश गरिएको उल्लेख गर्दै क्यान्सर सम्बन्धी जनसचेतिकरण अभियानलाई थप प्रभावकारी बनाउदैं प्रत्येक नगर र वडामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका सभापति श्रीधर राठौरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. रत्नकमल बैद्य, केन्द्रिय कोषाध्यक्ष अनन्तप्रसाद धौभडेल, उपसभापति सहना पसखल, सदस्य शिवहरी केसीलगायतले क्यान्सर रोग निवारणमा संस्थाले खेलेको भूमिका र स्मारिका प्रकाशनले पारेको प्रभावका बारेमा चर्चा गर्नुभयो ।