अन्तुमा पर्यटक आकर्षण बढ्यो: एक पटक पुग्नै पर्ने ठाउँ

177

कार्तिक २९,
इलाम । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावासयिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीलगायतले प्रख्यात छ । अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका छन् ।

यस क्षेत्रको हरेक डाँडाबाट कञ्चनजङ्घा हिमाल, सीमापारिका दार्जिलिङ, खरसाङ, मिरिकलगायत ठाउँ नियाल्न सकिने भएकाले अन्तुले पर्यटकलाई लोभ्याएको छ । जातीय झाँकी, पुरातात्विक वस्तुको सङ्ग्रहालय, पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित तुल्याएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकलाई बस्न र घुम्नका लागि उचित प्रबन्ध मिलाएको छ ।
विसं २०६० देखि यहाँ निरन्तर महोत्सवको माध्यमबाट पयर्टक आकर्षण बढाउने काम भइरहेको छ ।