किसानलाई चिन्ताः गहुँ छर्ने बेला रासायनिक मलको अभाव

129

मंसिर २,
कञ्चनपुर । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका किसान मङ्गुलाल चौधरीले अनुदानको मल नपाउदा भारतीय मल राखेर गहुँ छरेको बताउनुभयो ।
स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी छैन उहाँले भन्नुभयो, “रु ६० प्रतिकिलोका दरले खरीद गरेर छरेका छौं । मलले काम गर्छ वा गर्दैन जानकारी छैन ।” पसल सञ्चालकको विश्वासमा मल खेतमा छरेको उहाँले बताउनुभयो । शुक्लाफाँटाको पिपलाडीका किसान माघु राम चौधरीले मल नपाउँदा खेतमा गहुँ छर्न नसकेको बताउनुभयो । “अनुदानको मल त पाएनौँ”, उहाँले भन्नुभयो, “भारतीय मलसमेत नपाउँदा खेतमा गहुँ छर्न सकिएको छैन ।”

कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल ६५० मेट्रिक टन मात्रै आपूर्ति गरेको छ । किसानको माग त्योभन्दा दोब्बर छ संस्थानका निमित्त कार्यालय प्रमुख बबिता उपाध्यायले भन्नुभयो, “ढुवानीको समस्याले मागअनुरुप आपूर्ति हुन सकेको छैन । अझै माग अनुरुपको मल उपलव्ध गराउनका लागि भैरहवास्थित कार्यालयलाई लेखिपठाएका छौँ ।” गहुँबालीका लागि चाहिने किसानको मागअनुरुपको युरिया मलसमेत संस्थान किसानलाई उपलब्ध गराउन सकेको छैन । किसानलाई गहुँबालीका लागि दुई हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ । संस्थानले ६०० मेट्रिक टन युरिया मल मात्रै आपूर्ति गर्न सकेको छ । रासस/ फोटो: गुगल