कविताः पर्देशीको सन्देश

184

जानु काम्बाङ्ग लिम्बू,

आमाले सोधे रुँदैछ नभनी दिनु
बाबाले सोधे खुशी छ भनि दिनु
बहिनीले सोधे,
अर्को साल तिहार सम्झाई दिनु
भाईले सोधे, सोधेको छु
भनि दिनु ।

हिमालले सोधे
पर्देशियो भनि दिनु
पहाडले सोधे
भासियो भनि दिनु
तराईले सोधे
हरायो भनि दिनु ।

खोलाले सोधे फर्किन्छ
एक दिन भनि दिनु
पाटी पौवाले सोधे
फूल पाती चढाई दिनु
देउरालीले सोधे यहि बाटो
गएको छ आउला नि
भनि दिनु ।

गुँरासलाई भन्दिनु
बन पाखाभरि फ़ूलिरहनु रे भनेर
झरनालाई भन्दिनु
ईन्द्रेणी बोकी झरिरहनु भनेर
आँगन छेउको तिते पाती र बाबरीलाई
भनि दिनु
उसको चोलुंग (शिर) थामी बस्नु भनेर ।

गाउँका मादल अनि सरंगीलाई
सम्झेको छू भनि दिनु
बिनायो र मर्चूङ्गालाई
भूलेको छुइन भनि दिनु ।

सुन्दैछु अचेल नर्सिङ्गा, सनई
अनि नौमती बाजाहरू बज्दैनन् रे
मादल, बाँसुरी र मुरलीले धुन बिर्से अरे
बाँसघारी बाबैलाई भनि दिनु
नातिलाई मुरली खिप्न सिकाउनु भनेर
मुलखर्के काकालाई भनि दिनु
छोरालाई गिटार होइन
मादल किनी दिनु भनेर

भन्दिनु न्याउलिलाई
परदेशी सम्झी नरुनु भनेर
कोईलीलाई भन्दिनु
मेरो नाम नभूल्नु भनेर

म आउंछु फर्की
यदि आईन भने पनि
म, आउंछु एक सुन्दर कफिनमा
एक पोको देस प्रेम सिरानीमा राखेर रर

ताप्लेजुङ्ग, हालः झापा