पोर्चुगलमा ज्ञान महायज्ञ

96

मंसिर १५,
लिस्बन । सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो । महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनुहुनेछ । महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ । विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उहाँले बताउनुभयो । योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ । -रासस