सिन्धुपाल्चोकमा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुने

84

मंसिर १५,
मेलम्ची । जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकमा हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ को गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुनेभएको छ । सतहत्तरवटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा घोषणापत्र जारी गर्नेछ । जलवायु अनुकूलन योजना निर्माण गर्न स्थानीय तहलाई सहजीकरण हुने नीति निर्माणका लागि सम्मेलनको आयोजना गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि यस क्षेत्रमा पर्ने वातावरणीय असर कम गर्न राज्यको ध्यानाकर्षण गराउनका लागि सम्मेलनका सहभागीलाई आयोजनाको मुहान क्षेत्रमा अवलोकन भ्रमण गाराउने जिल्ला समन्वय समिति प्रमुख तामाङले जानकारी दिनुभयो । रासस