विदेशको भन्दा गाउँमा धेरै कमाइ

85

मंसिर १५,
चितवन । स्याङ्जाको हरिनास गाउँपालिका–ललही गाउँ यतिबेला सुन्तलाले पहेँलपुर बनेको छ । सुन्तला बारीको बीचमा स्थानीय अर्जुन सिग्देलको घर छ । सिग्देल तीन वर्ष मलेसिया बसेर आफ्नै गाउँमा कर्म गर्न फर्किएका व्यक्ति हुनुहुन्छ । विसं २०६० मा सिग्देल कमाउनका लागि मलेसिया पुग्नुभयो । त्यहाँको तीन वर्षको बसाईमा रु तीन लाख जोगाउन कठिन प¥यो । उहाँले भन्नुभयो, “महीनाको रु १० हजार पनि नबचेपछि म गाउँ फर्किए ।” गाउँमा अनगिन्ती अवसर आयो उहाँलाई । भिरालो बारीमा उहाँले सुन्तला, अदुवा, अम्रिसो लगाउनुभयो । सम्म बारीमा तरकारी रोप्नुभयो । गोठमा भैँसी र बाख्रा पाल्नु भयो । सबैले आम्दानी दिन थाले । खुशी हुँदै उहाँले भन्नुभयो, “यस वर्ष रु दुई लाखको सुन्तला बेचे, रु एक लाख ५० हजारको खसी र ५६ माना घ्यू बेचे ।” यससँगै अम्रिसो, बेसार, तरकारीबाट पनि आम्दानी भएको छ । वार्षिक रु चार लाखभन्दा बढीको आम्दानी भएको सिग्देलले बताउनुभयो ।

सिग्देलले कृषि कर्ममा मात्र होइन सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । सामुदायिक वन, कृषि समूह, टोल विकास समूह, विद्यालयजस्ता संस्थाको अध्यक्ष उहाँ नै हुनुहुन्छ । आठ वटा संस्थाको नेतृत्व आफैँले गरेको उहाँले बताउनुभयो । सुन्तला देखाउँदै उहाँले भन्नुभयो, “विदेश जानेका लागि गाउँमा गज्जबको उदाहारण म बनेको छु ।” विदेश जानुभन्दा आफ्नै देश र माटोमा मिहिनेत गर्न सक्यो भने यही नै कमाइ छ । गाउँबाट युवा पलायन भएकामा उहाँलाई चिन्ता छ । यहीं बसेर परिश्रम गरौँ यही रमाउँ भनेको छु कसैले सुन्दैनन् उहाँले गुनासो गर्नुभयो । सिग्देलले भन्नुभयो, “गाउँमा परिश्रमी किसान, समाजसेवी र नेता बन्न पाउँदा निकै खुशी लागेको छ ।” रासस