डाक्टरले परीक्षामा सय नम्बर नल्याए लाइसेन्स खारेज

60

नयाँ पत्रिका दैनिक- मंसिर १६,
काठमाडौं । डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।

‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ । उनीहरूले तोकेको कोर्स पूरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ । नभए लाइसेन्स खारेज हुन्छ । ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिनेछ ।’

तालिमको ३० र कार्यक्रमको ७० अंक
पेसामा विकासको निरन्तरता ९सिपिडी० कार्यक्रममार्फत काउन्सिलले डाक्टरहरूको परीक्षा लिनेछ । कार्यक्रममा सबै डाक्टरलाई सहभागी हुन बाध्यात्मक व्यवस्था बनाएको छ । काउन्सिलमा २२ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् । उनीहरूले पूरा गर्नुपर्ने तालिम र कार्यक्रमका लागि नम्बर छुट्याइएको छ । तालिमको ३० र कार्यक्रमको ७० अंक राखिएको छ । कुन तालिम र कार्यक्रमको कति नम्बर दिने भन्ने मापदण्ड पनि काउन्सिलले बनाउनेछ । पाँच वर्षको अवधिभित्र तोकिएको तालिम र कार्यक्रममा सहभागी भएर सय नम्बर प्राप्त गर्नुपर्छ । काउन्सिलले तोकेको तालिम र कार्यक्रममा सहभागी भएर पूरा अवधिभर बस्नैपर्ने बाध्यता डाक्टरहरूलाई हुने आचार्यले बताए । डाक्टरले लिखित परीक्षा भने दिनुपर्दैन ।