उपत्यकाको फोहोर व्यवस्थापन कार्यदलको प्रतिवेदनः बञ्चरेडाँडा अन्तिम विकल्प

62

समाचारपत्र दैनिक- मंसिर २०,
काठमाडौं । स्थानीय निकायले यसै वर्षको चैत महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्नुपर्ने जनाएको छ । उपत्यकाका फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न कामपाका सहसचिव भरतप्रसाद अर्यालको संयोजकत्वमा गठित समितिले सिसडोल ल्यान्डफिल साइट आसपासका अन्य स्थानमा वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्दा जग्गा प्राप्तिपछि थप समस्या पर्ने भएकाले वञ्चरेडाँडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाव तयार गरेको छ ।

समितिले तत्काल वञ्चरेडाँडामा फोहोर व्यवस्थापनको पूर्वाधार निर्माण शुरु नगरे उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकी विकराल समस्या सिर्जना हुन सक्ने चेतावनी दिएको छ । सो पूर्वाधार विकास निर्माणको कार्य गर्न प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार प्रकृया पूरा गर्न समस्या लाग्ने हुँदा मन्त्रिपरिषद्बाट निर्णय गराई छोटो प्रकृया अबलम्बन गरी तत्काल कार्य शुरु गर्न उपयुक्त देखिने निष्कर्ष निकालेको छ । हाल १८ स्थानीय निकायको फोहोर व्यवस्थापन हुने सिसडोल ल्यान्डफिल साइटको अवस्था जटिल बन्दै गएको र पछिल्लो समयमा फोहोर व्यवस्थापन गर्न समेत समस्या पर्न थालेपछि गएको भदौमा काठमाडौ महानगरपालिकाका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा सिसडोल ल्यान्डफिल साइटको हालको अवस्था हेर्दा तत्कालै अर्को ल्यान्डफिल साइटको विकास गरी काठमाडौको फोहोरमैला अन्तिम बिसर्जन गर्नुपर्ने उल्लेख छ ।