निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका

काठमाडौंमा एक र महेन्द्रनगरमा तीन पक्राउ

69

नयाँ पत्रिका दैनिक- मंसिर २०,
काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा ।
सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुव्र्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ । प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ ।

घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको समेत प्रहरी स्रोत बताउँछ । लागूऔषध दुव्र्यसनीहरू नियमित गइरहने क्षेत्रमा निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुव्र्यनसी भएकाले उनीहरूको संलग्नताको सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
काठमाडौंमा पक्राउ परेका प्रदीपको घर निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । लामो समयदेखि लागूऔषध दुव्र्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले बताए ।