अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले दियो बैंकहरुलाई चेतावनी

181

नयाँ पत्रिका दैनिक मंसिर २१,
काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्पर्धा राम्रो नभएको बताए । ‘केन्द्रीय बैंकले बारम्बार सचेत गराउँदा पनि तपाईंहरू सचेत हुनुभएन, केन्द्रीय बैंकलाई जिस्क्याउनुभएको छ,’ उनले भने, ‘ब्याजदरमा सिरियस नभए भोलि नै राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्यस्तो वेला आश्चर्य नमान्नुहोला ।’ नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदरमा कायम गरेको भद्र सहमति सोमबारदेखि हटाएपछि बैंकहरूले निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्‍याएका छन् । वाणिज्य बैंकहरूले आपसी भद्र सहमति तोड्दै धमाधम ब्याजदर बढाउन थालेपछि त्यसको चौतर्फी आलोचना भएको छ । निक्षेपमा उच्च ब्याजवृद्धिले कर्जाको ब्याज बढ्ने र पुँजी बजार अझ ओरालो लाग्न सक्ने भन्दै उद्योगी व्यवसायी तथा लगानीकर्ताले आलोचना गरेका हुन् ।

वित्तीय प्रणालीमा लगानीयोग्य तरलताको अभाव देखिएपछि सरकारले स्थानीय तहको ५० प्रतिशत रकम सरकारी खाताबाट वाणिज्य बैंकहरूमा पठाएको थियो । त्यसबाट साढे ३८ अर्ब रुपैयाँ वाणिज्य बैंकमा प्रवाह भएको थियो । केन्द्रीय बैंकले स्थानीय तहको पैसा निक्षेपको रूपमा देखाउन मिल्ने व्यवस्था गरेको थियो । स्थानीय तहको रकम पठाएको भोलिपल्टैबाट बैंकहरूले अस्वाभाविक रूपमा निक्षेपको ब्याजदर वृद्धिमा प्रतिस्पर्धा गरेको भन्दै गभर्नर नेपालले आलोचना गरेका हुन् । ‘हामीले आर्थिक वर्ष सुरु हुनुअघि नै बैंकहरूबाट निक्षेप र कर्जा प्रवाहको योजना माग गरेका थियौ“,’ उनले भने, ‘बैंकहरू आफैँ केन्द्रीय बैंकमा पठाएको योजनाभन्दा बाहिर गएका छन्, राष्ट्र बैंकले गम्भीर भएर हेरिरहेको छ ।’