मध्यपहाडी लोकमार्गको रुकुम खण्डको काम धमाधम

110

मंसिर २४,
्रुकुम । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको रुकुम खण्डको काम धमाधम भइरहेको छ। अघिल्ला वर्षहरूमा ट्रयाक खनिएका सात सडक खण्डमा स्तरवृद्धिको काम भइरहेको हो। रुकुम पश्चिमको हाँसिबाङ देखि सेरीगाउँसम्मको ठेक्का नै आह्वान नभएका कारण अन्य सात खण्डमा भने कालोपत्रेका लागि काम भइरहेको हो। रुकुम पूर्वको किबिकोटदेखि पञ्चासेसम्मको काम पनि अहिले ग्राभेल गर्ने र कालोपत्रेको लागि अन्य आवश्यक सामग्री जुटाउने काम भइरहेको छ। यो क्षेत्रको निर्माण ठेक्का पाएको आशिष चन्द्र वसन्त केएस निर्माण सेवाका साइड इन्चार्ज विष्णु रावतकाअनुसार आगामी ८–१० महिनाभित्रै कालोपत्रको काम सम्पन्न हुनेछ। ‘हाम्रो निर्माणको जिम्मा रहेको १६ किलोमिटर सडक खण्डको काम धमाधम भइरहेको छ। ८–१० महिनाभित्रै कालोपत्रे समेत सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘हाम्रो जस्तै अन्य खण्डमा पनि वर्षातमा रोकिएको निर्माण काम धमाधम भइरहेको छ। सायद सबै खण्डमा समयमै काम सकिन्छ होला।’ कालोपत्रेका लागि आवश्यक गिट्टी बालुका धेरै टाढाटाढाबाट ल्याउनु पर्दा केही ढिला भएको उनको भनाइ छ। निर्माण जिम्मा कसको ? रुकुम पूर्व र पश्चिममा गरी आठ सडक खण्ड छन्। जिल्लामा करिब १२३ किलोमिटर सडक रहेको छ। जसमा रुकुम पश्चिमको चौरजहारी देखि चाइनाबगरसम्मको एउटा खण्ड हो। १६ किलोमिटर लामो उक्त खण्डको निर्माणको जिम्मा दिवाचन्द्रा वसन्त कन्ट्रक्सनले लिएको छ। त्यस्तै साढे १६ किलोमिटर लामो अर्को चाइनाबगर हाँसिबाङ खण्डको निर्माण जिम्मा पनि सोही कन्ट्रक्सनले लिएको छ। हाँसिबाङदेखि सेरीगाउँसम्मको १२ किलोमिटर खण्ड यो वर्ष कालोपत्रको लागि ठेक्का आह्वान भएको छैन। त्यस्तै १४ किलोमिटरको रुकुम पश्चिमकै शीतलपोखरीदेखि रिनदह सम्म, २० किलोमिटरको रिनदहदेखि रुकुमकोट सम्म र १६ किलोमिटरको रुकुमकोटदेखि बिकोटसम्मको १६ किलोमिटर निर्माणको जिम्मा कालिका प्यासिफिक कन्ट्रक्सनले लिएको छ। यसैगरी १६ किलोमिटरको रुकुम पूर्वको किबिकोटदेखि पञ्चासेसम्मको निर्माण जिम्मा आशिषचन्द्र वसन्त केएसले लिएको छ भने १३ किलोमिटरको पञ्चासेदेखि पाथिहाल्ना सम्मको निर्माण जिम्मा सिद्धिसाई प्रकाश जेभीले लिएको छ। सबै खण्डमा एकवर्ष भित्र कालोपत्रको काम सम्पन्न हुने बताइएको छ।