पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

208

पुस १,
– वासुदेव पौडेल
स्याङजा । जनशक्तिका अभावमा सञ्चालित घरबास ९होमस्टे० कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै गएका अवस्थामा भैंसे गौंडालगायत स्थानमा यसको प्रयास थालिसकिएको छ । सञ्चालनमा सामुदायिक प्रयास नभए आगामी दिनमा घरबास प्रभावकारी बन्न नसक्ने अवस्थालाई देखेरै पुतलीबजार नगरपालिका–२ स्थित भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणासहित आफूहरू सक्रिय बनेको मिलेनियम भैंसे गौंडा सामुदायिक होम स्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

“जनशक्तिको अभाव भइरहेका अवस्थामा अब व्यक्ति व्यक्तिले घरमा घरबास सञ्चालन गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “सामूहिक प्रयासबाट पर्यटकले पनि राम्रो सेवासुविधा पाउनाका साथै यसलाई दिगो र प्रभावकारी राख्न सकिने देखिएका कारण भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणा अघि बढाइएको हो ।” सामुदायिक घरबासको लक्ष्यका साथ लगभग १५ जना पर्यटकलाई एकै भवनमा राख्न सक्ने गरी भंैसे गौंडामा रु ५५ लाखको लागतमा छकोठे भवन निर्माण गरिसकिएको छ । उत्पादनसँग घरबासलाई जोड्ने लक्ष्यका साथ सामुदायिक कृषिका माध्यमबाट अनुत्पादक बन्दै गएका बाँझा जग्गालाई उत्पादनयोग्य बनाउन राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी मेकाडामिया नटको खेती थालिसकिएको छ ।

समूहका अध्यक्षसमेत रहनुभएका गुरुङका अनुसार २५ घरपरिवार सदस्यका रुपमा रहेको समूहबाट लगभग ५०० मेकाडामियाका बिरुवा लगाइसकिएको छ । आगामी दिनमा पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउन अन्य कृषिका विकल्प पनि खोजिने उहाँको भनाइ छ । ट्रेकअन्तर्गतकै पुतलीबजार नगरपालिका–९ स्थित पोखरीछापमा पनि समुदायमा आधारित घरबास सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय समाजसेवी नवीनप्रकाश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायकै सक्रियतामा पोखरीछापका प्राचीन संस्कृति घाटु, झोरा जस्ता नाचको संरक्षण एवम् विकासको प्रयास थालिएको छ । रासस