सूर्यविनायकमा विकाशको गति तीव्रः सडक वरिपरिका संरचना भत्काउन शुरु

115

पुस १,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । सडक विस्तार कार्यलाई महाअभियानको रूपमा लिएको उक्त नगरपालिकामा अन्य विकाशका कार्य समेत तीव्र गतिमा अगाडी बढेको नगरको दाबी छ । आइतबार भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो । नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो ।

स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताए ।
सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तार कार्य शुरु गरिएको र आगामी दुई महिनाभित्र सबै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । वडाअध्यक्ष जोशीले यस अघिनै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको बताए । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको उनको भनाइ छ ।