केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना

94

पुस ३,
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेता भीम रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना गरेका छन् । ओली– प्रचण्डको कार्यशैलीमाथि धेरै प्रश्न गर्ने ठाउँ भएको भन्दै उनले थप समय उपलब्ध गराइए सम्पूर्ण फेहरिस्त दिन तयार रहेको बताए ।

बैठकमा हरेक स्थायी कमिटी सदस्यलाई धारणा राख्नका लागि २० मिनेट समयको उपलब्ध गराइएको थियो । तर सो समयले अपुग हुने भन्दै रावलले थप समय माग गरेका हुन् ।

बैठकमा सहभागी एक स्थायी कमिटीका सदस्यले रावलको भनाइ उद्धृत गर्दै भने, ‘सरकारमा कसलाई ल्याउने, कसलाई नल्याउने भनेर पार्टीमा छलफल हुनुपर्दैन ? सरकार सञ्चालक दलाल पुँजीपति वर्गको दबाबमा छ । समय भए यसको फेहरिस्त दिन तयार छु । अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक नभएको टिप्पणी गरेका उनले बैठकमा लिखित सुझाव सहितको प्रतिवेदन नै पेश गरेका छन् ।

‘संविधान संशोधनको कुरा नेतृत्वले गरेका छन्, त्यो हो भने बैठकमा एजेन्डा बनाएर छलफल गरिनुपर्छ । के आवश्यकता छन्, के छैनन् । एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ । यसमा आत्माआलोचना हुनुपर्छ । यसलाई बैठकमा एजेन्डा बनाइयोस्,’ बैठकमा रावलले भने ।

रावलको भनाइ उद्धृत गर्दै ती सदस्यले थपे, ‘बामेदव गौतमले पेश गर्नुभएका सुझाव राम्रा छन्, त्यसलाई समावेश गरिनुपर्छ । सरकारको गम्भीर समीक्षा होस्, त्यसलाई छुट्टै कार्यसूची बनाइयोस् ।’त्यस्तै नेता रावलले राष्ट्रियता, साङ्गठनिक, सरकार सञ्चालन लगायतका कुरालाई छुट्टै एजेन्डा बनाएर यही बैठकमा निर्णय गरिनुपर्ने बताएका छन् ।

आजको बैठकमा केशव बडाल, भीम रावल, योगेश भट्टराई, सोमनाथ प्यासी, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङले पनि अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा प्रश्नै प्रश्न गरेका छन् ।