मण्डनदेउपुरको बालुवापाटीमा प्रहरी चौकी स्थापना

303

पुस ३,
नगरकोट । काभ्रे जिल्लाको साविकको वालुवापाटी देउपुर गाउँ विकाश समिति हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा प्रहरी चौंकीको स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र नगरकोट समेत रहेको सो स्थानमा विगतमा कुनै समस्या हुदाँ बनेपा, नालादेखि प्रहरी आउने गरेका थिए । सोमबार प्रहरी चौकी स्थापना भएसंगै शान्ति सुरक्षा कायम गर्न सहज हुने नगरप्रमुख टोक बहादुर वाईवाको भनाई रहेको छ । वडा नम्बर २ को अट्टेडाँडामा समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको छ हो ।
नगर प्रमुख वाईवाले आवश्यकताको आधारमा बालुवापाटीमा प्रहरीचौकी स्थापना गरिएको बताए । उनले नाल्दुमका जनतालाई सानोभन्दा सानो काम परेपनि नाला प्रहरीचौकी वा हिगुवाटीपाटी जानु पर्ने बाँध्यताको अन्त्य भएको सुनाउँदै नगरकोटमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न प्रहरी चौकी सहयोगी हुने विश्वास व्यक्त गरे । उनले नगरका अरु ठाँउहरुमा समेत प्रहरीचौकी स्थापना गर्न लागेको बताए । उनले सबैको सहयोगमा आवश्यक रहेको ठाँउमा चौकी स्थापना गर्ने सुनाए ।
अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्काले चीनसँग सिधै नाका पर्ने र विभिन्न देशवाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उदेश्यले प्रहरी चौकी स्थापना गरेको बताए ।

वडा नं २ का अध्यक्ष केशव तिमल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन वडा नं १ का अध्यक्ष लक्ष्मण बस्ताकोटीले गरेका थिए । मण्डन देउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले संचालन गरेको कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष ईन्द्रबहादुर तामाङ,नेकपाका नेता उद्धव ढकाल,नेपाली कांग्रेसका बुद्धिबहादुर तामाङ,नेमकिपाका कृष्णबहादुर तामाङ, राप्रपाका तिलकबहादुर तामाङले मन्तव्य राखेका थिए ।
प्रहरीचौकीलाई आवश्यक पर्ने फर्निचर,एक थान मोटरसाईकल, पकाउन आवश्यक रहेको भाँडाकुँडाको समेत व्यवस्थापन मण्डन देउपुर नगरपालिकाले गरेको हो । प्रहरीचौकीलार्इ आवश्यक रहेको भवन समेत नगरले उपलब्ध गराएको छ । उक्त अस्थायी प्रहरी चौकीमा असईको नेतृत्वमा ५ जना प्रहरीको दरबन्दी रहेको छ ।