जनप्रतिनिधि र कर्मचारी भ्रमणमा कार्यालय सहयोगीको भरमा गाउँपालिका

132

पुस १३, २०७५ काठमाडौं संघीयता अवलोकनका लागि भन्दै हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका पदाधिकारीसहित २० जना भ्रमणमा निस्किएका छन्। १६ जना कार्यपालिकाका जनप्रतिनिधि, एक जना प्रमुख प्रशासकीय अधिकृत, एक कर्मचारी, दुई कार्यालय सहयोगी गरी २० जनाको टोली नेपालका विभिन्न स्थानको भ्रमणमा निस्किएका हुन्। अन्य जिल्लामा भएका नमुना गाउँपालिकाको काम अवलोकन गर्ने भन्दै सिमकोट र नाम्खा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि हिउँ छल्न जिल्ला बाहिरको भ्रमणमा निस्किएका हुन्। यस पटक सिमकोट गाउँपालिकाले भ्रमणको लागि भन्दै २५ लाख र नाम्खा गाउँपालिकाले १४ लाखा रकम छुट्याएको छ। नाम्खाको पनि कृषि अवलोकन भ्रमण भन्दै पूर्व इलमामा पुगेको छ। गाउँपालिकाको सबै काम ठप्प पार्दै जम्बो टोली अन्तरजिल्ला भ्रमणमा जानु उपयुक्त नभएको स्थानीय बासिन्दा गोरा रावतले बताइन्।

गाउँपालिकाका सबै भ्रमणमा निस्किँदा सेवाग्राही खाली हात लिएर फिर्ता हुनु परेको सिमकोट २ निवासी लालु बोहराले बताए। अहिले कार्यलय सहयोगीको भरमा गाउँपालिका सञ्चालन भइरहेको छ। सिमकोट गाउँपालिकाका वडा सदस्यहरूले भने आफूहरूलाई भ्रमण नलगेकोप्रति आक्रोश पोखेका छन्। कसैलाई काखा र कसैलाई पाखा गरेर भ्रमणमा जानु उपयुक्त नभएको सिमकोट गाउँपालिका ७ की वडा सदस्य ईश्वरी सिंहले बताइन्। भ्रमण टोलीमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले गाउँकार्यपालिकाले जनप्रतिनिधिसहित कर्मचारीलाई भ्रमण गराउने नीतिगत निर्णय गरेको हो। अन्य जिल्लामा रहेका गाउँपालिकामा भएका विकासका बारेमा स्थलगत रूपमा बुझेर गाउँपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर भ्रमणमा गएकोसिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बताइन्। संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गाउँपालिकाको टोली चितवन, धरान, इलाम, झापा, लमजुङलगायतका स्थानमा भ्रमणमा निस्केको बताइएको छ। थाहा खबर