‘ए’ डिभिजन लिग ; आर्मीलको छैटौँ जित

105

काठमाडौँ, १३ पुस शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क जोडेको छ भने अङ्क तालिकाको चौथो स्थानमा यथावत छ ।

आर्मीको जितमा नवयुग श्रेष्ठले एक गोल गरे भने कप्तान भरत खवासले दुई गोल गरे । नवयुगले खेलको सातौँ मिनेटमा दीपक गुरुङको पासमा करीब ६ यार्डबाट गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा कप्तान भरतले पेनाल्टीमार्फत एक गोल थप्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । सरस्वती खेलको २८ औँ मिनेटदेखि १० खेलाडीमा सीमित बन्यो ।

सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । सोही पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका कप्तान भरतले गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म २–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो । खेलको ६१औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे । उनले सन्तोष तामाङको फ्रि किक बललाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए । त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरुप आत्मघाती गोल गरे । एघार खेल खेलेको सरस्वती १० अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए । -रासस