इतिहास विषयप्रति विद्यार्थीको आकर्षण बढाउन (त्रिवि)ले विभिन्न कार्यक्रमहरु ल्याउने

88

काठमाडौँ, १९ पुस त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले इतिहास विषयप्रति विद्यार्थीको आकर्षण बढाउने भएको छ । केही वर्षयता इतिहास विषयमा विद्यार्थी सङ्ख्याका कमी आएपछि त्रिविले छात्रवृत्तिलगायत कार्यक्रम ल्याएर आकर्षण बढाउने भएको हो ।
त्रिवि इतिहास केन्द्रीय विभागले यहाँ आयोजना गरेको ‘इतिहास विषयको अध्ययन र अध्यापक तथा वर्तमान’ विषयको अन्तक्र्रियामा मानविकी तथा सामाजिक शास्त्रका डीन प्रा डा शिवलाल भुसालले इतिहास विषयको महत्व दर्शाउन नसक्दा पढ्ने विद्यार्थीको कमी आएकाले अब इतिहास विषयप्रति विद्यार्थीको आकर्षण गराउने बताउनुभयो ।

“आजकाल विद्यार्थीले रोजगारमूलक विषय बढी अध्ययन गर्ने गरेका छन् । यसले गर्दा पुराना विषयप्रति विद्यार्थीको आकर्षण बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “त्यसैले इतिहासलाई राजनीति, श्रम, सरकारी सेवा, सामाजिकलगायतमा महत्व बढाउने सके विद्यार्थीको आकर्षण बढ्ने गर्दछ ।” उहाँले इतिहास विषय पुराना भएकाले यसको महत्व नघटेको भन्दै यसमा अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढाउन जरुरी रहेको बताउनुभयो । पहिले देशभरिका क्याम्पसमा पढाइ हुने गरेको इतिहास अहिले कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस मात्र पढाइ हुने गरेको छ । विसं २०७० सालदेखि सेमेष्टर प्रणाली शुरु हुँदा सात विद्यार्थी रहेकामा २०७४ सालमा विद्यार्थीको सङ्ख्या शून्य छ ।

अहिले नयाँ शैक्षिक सत्रमा पाँच विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । डीन प्रा डा भुसालले इतिहासजस्तै स्नातकोत्तर तहमा अहिले भूगोल, संस्कृति, बौद्धदर्शन, भाषा विज्ञानजस्ता विषयमा पनि विद्यार्थीको सङ्ख्या अत्यन्तै न्यून रहेको बताउनुभयो । विसं २०७३ मा भूगोल विषयमा विद्यार्थी सङ्ख्या न्यून थिए ।

इतिहास विभागका प्रमुख शङ्कर थापाले विद्यार्थीलाई आकर्षण गराउनका लागि बिहानी सत्र, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था र प्राज्ञिक महत्वका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउनेजस्ता आकर्षणका कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले बजारको मागअनुसार पनि पाठ्यक्रममा परिमार्जन गरी विद्यार्थीलाई आकर्षण गराइएको जानकारी गराउनुभयो । -रासस