दाङमा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती शुरु

91

काठमाडौं,२० पुस दाङमा आधुनिक प्रविधिको प्रयोग गरी तरकारीखेती शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ का किसान अमृत धितालले दाङमै पहिलो पटक आधुनिक ‘हाइड्रोपोनिक’ प्रविधिको जडान गरी तरकारीखेती शुरु गर्नुभएको हो । परम्परागतरूपमा माटोमा तरकारीखेती गरेर मनग्य आम्दानी गर्न नसिकने भन्दै आधुनिक प्रविधिबाट तरकारीखेती शुरु गरेको उहाँको भनाइ छ । “विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “अब पनि पुरानो पद्धतिबाट कृषि गरेर हुँदैन, नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ ।”

उहाँले विद्युत्को प्रयोग गरेर तरकारीलाई चाहिने हावा, खाना तथा पानी आपूर्ति गरिरहनुभएको छ । तरकारीका लागि आवश्यक वातावरण निर्माणका लागि एसी, पङ्खाजडान गर्नुभएको छ । “हाइड्रोपोनिक पद्धतिबाट शुरु गरिएको खेती अधिकांश विद्युत्को सहायताले हुनेगर्छ”, उहाँले भन्नुभयो, “तरकारीलाई कस्तो हावापानी आवश्यक पर्छ, त्यो सबै प्रविधिबाटै हुन्छ ।”

विषादीरहीत बेमौसमी तरकारी उत्पादन गर्ने उद्देश्यले यो प्रविधि दाङमा भित्र्याएको उहाँको भनाइ छ । “हिउँदमा पनि बर्षात जस्तै हावापानी निर्माण गर्न सकिन्छ, भने बर्षातको समयमा पनि हिउँद जस्तै बनाउन सकिन्छ” उहाँले भन्नुभयो, “बिरुवालाई जस्तो वातावरण आवश्यक पर्छ त्यहीअनुसार वातावरण सिर्जना गर्न सकिन्छ ।” पाँचवर्ष विदेश बसेर फर्कनुभएका उहाँले विदेश बसेको सीप आफ्नै गाउँठाउँमा प्रयोग गरेको बताउनुभयो । “म पाँच वर्ष विदेश बसेर फर्केको हूँ”, उहाँले भन्नुभयो, “विदेशमा यस विषयमा केही रूपमा अध्ययन गर्न पाएँ र नेपाल फर्केर आफैँले व्यवसाय शुरु गरेँ ।”

बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट दिँदा बिरुवामा कुनै रोग नलाग्ने र कीराले आक्रमण गर्ने सम्भावना नहुने समेत उहाँले बताउनुभयो । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत जैविक हुने उहाँको भनाइ छ । “बजारमा छ््याप्छ्याप्ती तरकारी आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसलाई रोक्न पनि यस्तो प्रविधि भित्र्याएका हौँं ।’ यो पद्धतिबाट तरकारीखेती गरेमा विषादी राख्नुनपर्ने उहाँको भनाइ छ । विदेशबाट फर्केपछि आफ्नै गाउँठाउँमा तरकारी खेतीका लागि नयाँ पद्धतिको विकास गर्ने सोच बनाएका धितालले समाजशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ । -रासस