निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार जहाज खरिद प्रकरणमा मुख्य दोषी भएको ठहर

228

काठमाडौं  नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जहाज खरिद प्रकरणमा मुख्य दोषी भएकाले निलम्बन गरी कारबाहीको लागि सिफारिस गरेको छ। समितिले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि छानविन गरी कानुनी कारबाही अगाडि बढाउन सरकार र अख्तियारलाई निर्देशन दिएको छ ।

लेखा समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कानुनसम्मत कारबाही गर्न उल्लेख गरिएको छ। उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको बदनियत शब्द हटाएर कानुनसम्मत मात्र उल्लेख गरी लेखा समितिले प्रतिवेदन पारित गरेको छ। यसबाहेक विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि छानविन गरी कारबाही गर्न समितिले निर्देशन दिएको छ ।

यसैगरी बैठकले गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ। समितिको सोमबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै दोषी ठहर्याएको तत्कालीन पर्यटन सचिव राईको सम्बन्धमा नेपाल वायूसेवा निगमले अघिल्लो प्रतिवेदन सच्चाउदै उन्मुक्ति दिएको हो ।