‘मौसमी बेलुन’ फागुनदेखि नियमित

66

काठमाडौँ, २३ पुस : मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आगामी फागुनदेखि ‘मौसमी बेलुन’ उडान नियमित सञ्चालन गर्ने तयारी थालिएको छ ।

उक्त बेलुन उडान सञ्चालनका लागि आवश्यक तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन परीक्षण शुरू गरिएको थियो ।

नेपालको मौसमी सूचना प्रणालीमा सुधार तथा आधुनिकीकरणका लागि विश्व बैंकको सहयोगअन्तर्गत मौसमी बेलुन उडान तयारी शुरु गरिएको हो । बेलुनका लागि हाइड्रोजन ग्यास उत्पादन गर्ने जेनेरेटरका लागि अर्को ग्यासको अभावमा पहिलो चरणको परीक्षण एक महीनापछि बन्द भएको थियो ।

हाल सो उडान गर्ने स्थानमा अन्य आवश्यक पूर्वाधार निर्माण भइरहेको र एक महीनाभित्र निर्माण सम्पन्न भएलगत्तै सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक डा ऋषिराम शर्माले राससलाई जानकारी दिनुभयो । थप ३० दिन ‘सञ्चालन परीक्षण’ गर्ने र त्यसमा कुनै समस्या नआए सेवा सञ्चालनमा लैजाने विभागले जनाएको छ ।

नियमित सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र बजेटका बारेमा मन्त्रालयलाई आग्रह गरिसकेको उहाँले बताउनुभयो । विभागका अनुसार उक्त बेलुन उडाउन सेन्सरसहितको दैनिक खर्च २०० अमेरिकी डलर लाग्छ ।

उक्त परियोजनाअन्तर्गत हाल दुई वर्षका लागि पुग्ने खर्चको जोहो भइसकेको र त्यसपछिको खर्चका सम्बन्धमा सरकारले नियमित बजेटमा राख्नुपर्ने विभागले भनाइ छ ।

यसअघि परीक्षणका क्रममा शुरु गरिएको बेलुन प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५ः३० बजे उडाइएको थियो । त्यसरी उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटर माथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खसेका थिए ।

हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउँछ । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ ।

विभागका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्र्रताको जानकारी दिन्छ । त्यसका आधारमा मौसम पूर्वानुमान गरिन्छ ।

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने महानिर्देशक शर्माको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोबल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ ।

“शुरूमा तीन दिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भन्नुभयो ।

बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटका माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ दैनिक उडाइरहनुपर्छ । –रासस