भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने

144

काठमाडौँ, २४ पुस पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको बाली विकास तथा कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने रोपेको पाइँदैन ।”

भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गर्नुभयो । भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो ।

उहाँले भन्नुभयो, “किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ ।”निर्देशनालयले मुख्य बालीको प्रवद्र्धनसँगै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालयमार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ । -रासस