सबै स्थानीय तहमा बैंकिङ सेवा

76

पुस २५,
फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताउनुभयो । “योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।” गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । “सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो । -रासस