बिपी सङ्ग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ पुस -राष्ट्रियसभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनःनिर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शर्माले जननेता पुष्पलालको भत्किएको घर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्नेमा त्यस विषयमा सरकारले कुनै पनि ध्यान नदिएकोमा त्यहाँका स्थानीय निकै दुःखी रहेको आफूले पाएको सुनाउनुभयो ।

चित्रकारले कुँदेको पुष्पलाल र शहीद गङ्गालाल श्रेष्ठको चित्र त्यतिकै भुईंमा राखिएको हुँदा पुष्पलालजस्तो नेतालाई सबैभन्दा ठूलो उपेक्षा भएको आफूले महसुस गरेको हुँदा राज्यले महत्वपूर्ण व्यक्तित्वको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । -रासस

LEAVE A REPLY