सरकार सांसदप्रति उत्तरदायी भएन : काङ्ग्रेस

62

काठमाडौँ, २५ पुस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै काङ्ग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएकोप्रति गुनासो गर्दै उहाँले सरकार सांसदप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभयो ।

सांसद खाँणले भन्नुभयो, “सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न, हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने आग्रह छ ।”
प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ नदिए बैठक अवरोध गर्ने उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद खाँणको भनाइप्रति सभामुख महराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जवाफ दिन निर्देशन दिनुभयो । -रासस