राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा

64

नयाँ पत्रिका दैनिक/नवराज मैनाली
पुस २६, काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् । २ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् ।

सिआइबीले फुल्हम र ओङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरेको थियो । ओङछुलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ । उनी हालसम्म अस्ट्रेलियामै छन् । उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ । ‘चालक ओङछुलाई पक्राउ गर्न नसक्दा हामी राजदूतसम्म पुग्न सकेनौँ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘नेपालबाट तीनजना लैजाने क्रममा राजदूत शेर्पा र चालक ओङछुबीच विवाद भएको देखिन्छ । दुईजनाको विवादकै कारण ती तीनजना जान नसकेको जस्तो देखिन्छ ।’ राजदूतले भान्छे, चालक तथा सहयोगीका रूपमा केही कर्मचारी लैजाने सक्ने प्रावधान छ ।