७८ करोड कर तिर्न पत्र आएपछि बेहोस

183

नयाँ पत्रिका दैनिक
पुस २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतार–हतार अस्पताल पुयाए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि स्थायी लेखा नम्बर ६०२४१८४२१०ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए ।

उनका कतिपय आफन्तलाई पत्र नक्कली हो कि भन्ने लाग्यो । तर, कर कार्यालयमा गएर बुझ्दा पत्र सक्कली नै भन्ने खुल्यो । थप विवरण हेर्दा अरूले नै उनको नागरिकताका आधारमा कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो । आर्थिक वर्ष ०७१र७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । त्यसपछि कर कार्यालयमा सम्पर्क नराखेपछि नागरिकताका आधारमा लीलाप्रसाद श्रेष्ठको नाममा पत्र लेखिएको थियो । नेपाल स्याटेलाइट नेपाल प्रालिसँग सहकार्य गरी एनसेलको सिम तथा रिचार्ज कार्ड बिक्रीको जिम्मा लिएको सो कम्पनीले नौ महिनामा २ अर्ब ४२ करोडको कारोबार गर्दा एक रुपैयाँ पनि कर तिरेको थिएन । लीलाप्रसाद श्रेष्ठ स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो । तर, विजयनारायण फेला परेनन् । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गएर उजुरी दिए । त्यसपछि अनुसन्धान सुरु भयो ।