नेपाल–जापानबीच अब सिधै हवाई उडान

99

समाचारपत्र दैनिक
पुस २६, काठमाडौं । नेपाल–जापानबीच सिधा हवाई उडानसहित विविध सम्झौता भएको छ । द्धिपक्षिय परामर्श संयन्त्र र नेपाली कामदार जापान लाने ‘मोडालिटी’ तय गर्न दुवै मुलुक सहमत भएका छन् । सन् १९९३ मा भएको हवाई सम्झौता पुनरावलोकन गर्नेबारे दुवै मुलुकबीच बुधवार सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो संलग्न द्धिपक्षिय भेटवार्तामा पुरानो हवाई सेवा पुनरावलोकन गर्दै जतिसक्दो छिटो सिधा हवाई सेवा शुरु गर्र्ने सहमति भएको हो । सिधा हवाई सुचारु गर्न गत असार ४ गते दुवै मुलुकवीच सम्झौता भए पनि सो सम्झौतालाई अहिले कुटनीतिक तवरमा औपचारिकता दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आगामी महिनादेखि हवाई सेवा आरम्भ गर्न जापान सकारात्मक रहेको बताउँदै छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘संभवतः फेब्रुअरीदेखि नै हवाई सेवा शुरु हुन्छ ।’
यससँगै बुधवार परराष्ट्र सचिवस्तरिय द्धिपक्षिय परामर्श संयन्त्र स्थापना भएको छ । जापानी सहयोगमा नेपालमा निर्माण हुने, निर्माणाधिन परियोजनाको अनुगमन र सहजीकरण गर्न संयन्त्रले सघाउ पु¥याउने बताइएको छ ।