सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर

118

नयाँ पत्रिका दैनिक
पुस २६, काठमाडौं । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो रु संसद्मा कतै अभिलेख छैन । सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ । तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पिएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन् । तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भान्जाभान्जीलगायत आफन्तलाई नियुक्त गरेका छन् । ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ ।

कति योग्यताको पिए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले नयाँ पत्रिकासँग भने । संसदले ५ मंसिर ०७३ सालमा पारित गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनले सभामुखदेखि सांसदका पिएको पारिश्रमिक पिएकै खातामा जानुपर्ने व्यवस्था गरेको छ । तर, कानुन बनेको २ बर्ष बितिसक्दा पनि तलब सांसदकै खातामा जाने गरेको छ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव,एकजना शाखा अधिकृत सरहको पिए राख्न पाउने ऐनमा व्यवस्था छ । साथै एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी सभामुख र अध्यक्षको सचिवालयमा ६ जना रहन्छन् । त्यस्तै प्रतिनिधिसभामा विपक्षी दलको नेता,उपसभामुख र उपाध्यक्षको निजी सचिवालयमा एकजना उपसचिव सरह पिए,राजपत्र अनंकित प्रथम श्रेणी सरहको एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी चारजना कर्मचारी रहन्छन् ।