चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ जनाको मृत्यु

97
सांकेतिक तस्विर

नयाँ पत्रिका दैनिक टेकराज थामी
पुस २७, काठमाडौं । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

मन्दिर आसपासमा धेरै वृद्धवृद्धा
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ ।

मन्दिरआसपासका क्षेत्रमा भिख माग्ने कार्यमा वृद्धवृद्धा नै धेरै भएकाले जाडोले कक्रिएर मर्नेको संख्या यी क्षेत्रमा धेरै हुने गरेको प्रहरीको भनाइ छ । गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर चिसोले कक्रिएर प्रत्येक वर्ष ४८ जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा विशेषगरी हिमाली र तराई क्षेत्रका विपन्नवर्गका नागरिक छन् । हिमाली क्षेत्रमा हिउँको चिसोले कठ्यांग्रिएर र तराईमा शीतलहरका कारण मृत्यु हुने गर्छ ।

बेवारिसे अवस्थामा भेटिएकी गर्भवतीको मृत्यु
सडकमा बेवारिसे अवस्थामा भेटिएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी लामाको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार उनको थापाथलीस्थित प्रसूतिगृहमा मृत्यु भएको हो । उनको गर्भमा चार महिनाको शिशु रहेको प्रहरीले जानकारी दिएको छ । लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार क्षेत्रपाटीको सडकबाट उद्धार गरेको थियो । उनी मानसिक स्थिति बिग्रिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको गर्भमा रहेको शिशु कसको भन्ने खुल्न सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लामाको मृत्यु निमोनियाका कारण भएको बताए । ‘सडकमा रहेका बेवारिसे वृद्धवृद्धा उद्धार गर्ने क्रममा उनी फेला परेकी हुन् । उनको स्थायी परिचय खुल्न सकेको छैन । जाडोले कठ्यांग्रिएको अवस्थामा भेटिएकी उनी बिरामीझैँ देखिन्थिन्,’ बोगटीले भने, ‘उपचारका लागि अस्पताल लगपछि उनी गर्भवती रहेको खुल्यो । चिसोका कारण निमोनियाले उनलाई गालिसकेको रहेछ । उपचारकै क्रममा मृत्यु भयो ।’ सडकबाट उद्धार गर्दा उनीसँग परिचय खुल्ने कुनै कागजात फेला नपरे पनि उनले आफ्नो नाम लक्ष्मी लामा बताउने गरेको प्रहरीले जनाएको छ