नेपाल–जापान बैठक ; श्रमिक भर्ना अप्रिलदेखि

103

माघ ४, काठमाडौँ
बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो ।

‘नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विषयमा आआफ्ना धारणा राख्ने काम भयो,’ बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘यसले दुई देशबीच यथाशक्य छिटो द्विपक्षीय समझदारी गर्ने बाटो तय भयो ।’ आउँदो अप्रिलबाटै जापानले विदेशी श्रमिक लैजाने तयारी गरेको घिमिरेले बताए ।

जापानले आफ्नो देशमा श्रमशक्ति अभाव भएपछि विदेशबाट ल्याउने निर्णय गरेको थियो । बैठकमा जापानले विदेशी श्रमिकसँग सम्बन्धित अध्यागमन कानुन संशोधन गरेको जानकारी गराइएको थियो । नेपाली श्रमिकमाथि अनावश्यक भार पर्न नहुने, पारदर्शी ढंगबाट श्रमिक छनोट हुनुपर्ने, जापानी नागरिकसरह नै नेपालीलाई तलब र सेवासुविधा दिनुपर्ने, बिमा र सामाजिक सुरक्षा हुनुपर्ने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने सर्त नेपाली पक्षले राखेको थियो ।

जापानी पक्षले स्वदेशी र विदेशी श्रमिकबीच तलब, सेवासुविधामा भेदभाव नभएको, व्यवसायजन्य स्वास्थ्य सुरक्षामा उचित व्यवस्था भएको बताएको थियो ।

‘दक्ष श्रमिकको भिसाको अवधि ५ वर्ष र अदक्ष श्रमिकको भिसा अनिश्चित छ । भाषा परीक्षामा उत्तीर्ण हुनेलाई छनोट गरिन्छ । कुन तहको भाषा परीक्षा लिने भन्ने विषयमा कार्यविधि बन्दै छ । कार्यविधि बन्नेबित्तिकै नेपाललाई जानकारी दिइनेछ,’ जापानी टोलीको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘सरकार–सरकारबीच दुईपक्षीय श्रम–समझदारी भए पनि निजी क्षेत्रले माग गरेअनुसार श्रमिकको भर्ना हुनेछ । निजी क्षेत्रले जति श्रमिक माग गर्दछ । त्यति नै श्रमिक लैजाने हो ।’

जापान सरकारले तत्कालका लागि ३ लाख ४२ हजार विदेशी श्रमिक भर्ना गर्ने निर्णय गरेको थियो । यसमा नेपालीको कोटा छुटयाइएको छैन । बैठकमा जापानी पक्षले नेपाली श्रमिक उच्च प्राथमिकतामा परेको जनाएको थियो ।

श्रम मन्त्रालयले द्विपक्षीय श्रम समझदारीपछि मात्रै श्रमिक भर्ना प्रक्रिया सुरु हुने हुँदा सचेत रहन आग्रह गरेको छ । ‘अहिले नै केही प्रक्रिया सुरु भइसकेको छैन । अहिले रकम उठाउने गिरोह सक्रिय भइरहेको खबर आइरहेको छ । भर्ना प्रक्रिया सुरु भइसकेको छैन,’ घिमिरेले भने, ‘जापान लैजाने भन्दै कोही कसैले रकम उठाए कारबाहीको भागीदार हुनुपर्छ । -कान्तिपुर