प्रतिनिधि सभामा प्रधानमन्त्री ओली र सांसदबीच सवाल–जवाफ

73

काठमाडौं माघ ४,
प्रतिनिधि सभामा आज प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच सवाल जवाफ हुने भएको छ । मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा सांसदले सोधेको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसुची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ५६ बमोजिम आज प्रश्नोत्तर शत्र सञ्चालन गर्न लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्यक्ष रुपमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने उल्लेख छ । नियमावलीमा सो व्यवस्था भएपनि अभ्यास भने आज हुने प्रश्नोत्तरु नै पहिलो हो । संघीय संसदको अधिवेशन सुरु भएको झन्डै एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्र सुरु हुन लागेको हो । आज हुने प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्रलाई व्यवस्थित बनाउन हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षका सांसदले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न मिल्ने सहमति भएको थियो । बैठकले सत्तारुढ तथा प्रतिपक्षी दुबै दलका सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्दा सरकारलाई उत्तरदायी बनाउन थप मद्दत पुग्ने निष्कर्ष निकालेको संसद सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आसन्न विदेश भ्रमणबारे पनि प्रतिनिधि सभालाई जानकारी गराउने कार्यसूची छ । प्रधानमन्त्री ओली पर्सी आइतबार स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । यसैबीच प्रतिनिधि सभामा आज दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक र पारमाणविक विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसुची रहेको सचिवालयका सहप्रवक्ता अर्यालले बताउनु्भयो । नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक दफावार छलफल गर्न समितिमा पठाउने आजको बैठकको कार्यसुची छ ।