कथाः घमण्डको परिणाम

138

-यमुना पराजुली अधिकारी,

“ यो पटक पनि पहिलो प्रमाणपत्र त मेरै हो ।” सुजिताले अलि सेटर हान्दै सरला तिर डेडा डेडा आँखाले हेर्दै भनिन् । सरला भने उन्को कुरालाई सुनेर पनि नसुनेको जस्तो गरिदिन्छिन् ।
यो जाडोमा स्काउटको तालिम दिलाउन तिन दिनको लागि सुन्दरीजलमा “विन्टर क्याम्प” लाने भयो स्कुलले । जस्मा कक्षा सात र आठका बिध्यार्थीहरु सामेल थिए । क्याम्पमा स्काउटका बिध्याथीहरुलाई बिभिन्न किसिमका खेल खेलाउछ र तालिमहरु दिलाउछ स्कुलले । र पहिलो दोस्रो र तेस्रो हुनेलाई हौसलाको लागि प्रमाणपत्र पनि दिने गरेको छ । सुजिता र सरला पनि जाने भए त्यो क्याम्पमा । उनिहरु दुबै कक्षा आठका बिध्यार्थी हुन् । र दुबै एउटै घरको दुई वटा फ्लाटमा बाबाआमाको साथमा बस्छन् ।
सुजिता अलि खाइलाग्दो ज्यान भएकी अग्ली छिन् । सरला भने अलि लुरी छिन् । खाना पनि खान असाध्यै कर गर्नुपर्छ । “ पेट भरिने गरि त खाएकै छु नि आमा धेर कर नगर्नुुस् न ।” उनि अलि लाडिदै बोल्छिन् । “ सुजिता जस्तो हुनुपर्छ के जे पनि गमगम खाने ।” आमा कराउनु हुन्छ । उनि नसुने जस्तो गरि किताब समाउछिन् । पढ्नमा भने एकदमै मेहनेत गर्छिन उनि ।
सुजिता सरलालाई हेप्न खोज्छिन् । झनै यो स्काउटको तालिमको बेलामा त उन्को फुर्तिफार्ती नै बेग्लै हुन्छ । किनभने उन्को शारीरिक बनावटले खेलमा उनिलाई साथ दिएको छ । जे भएपनि पढाइमा सरलालाई कहिले उछिन्न सकिनन् सुजिताले । स्काउटमा पनि मन दिएर निर्देशन अनुसारको काम गरेकै छिन सरलाले ।
साँच्चै भन्नु पर्दा सरला अनुुसाशित र मेहनेती छिन् । त्यसको ठिक बिपरित सुजिता अलि घमण्डी र हेपाहा प्रबृतिकी छिन् । अरुलाइ चिढाउन र प्याच्च भन्नमा निक्कै माहिर छिन उनि । घरमा सुजिताकी आमाले पनि गाली गर्नुहुन्छ । यस्तो बानी ठिक होइन भनेर । तैपनि उन्को यस्तो बानी कहिल्यै हटेन ।
सुन्दरीजल जाने अघिल्लो दिन क्याम्पको लागि चाहिने लुगाहरु किन्न सुजिता र सरला दुबै बजार गए । सरलाले जाडोको लागि चाहिने तातो तातो लुगाहरु स्विटर ट्राउजर मोजा र टोपी किनिन् । तर सुजिताले भने फेसनेबल लुगा रोजिन् । “ आमा प्लिज अरु बेला पनि स्कुल जानु पर्छ । यस्तो लुगा लगाउन पाइन्न । घुम्न जाँदा त लगाउन दिनोस् ।” आमा सँग भन्न लागिन् । “ जिद्दी नगर है नानी तँ । जाडो सुरु भइरसक्यो अब त्यस्तो लुगाले हुदैन । तिमीहरु जाने ठाँउमा त झनै चिसो हुन्छ ।” आमाले जोड दिनुभयो । सुजिता त रुन पो लागिन् ।
सरलाले “ किन भनेको नमानेकी तिमीले? त्याँहा साच्चिकै जाडो हुन्छ । पोहोर तिमी जान पाएकी थिएनौ बिरामी भएर म त गएकी थिएँ नि । न्यानो लुगाहरु लैजानु पर्छ ।” सरलाको कुरालाई भुँइमा खस्न नदिदै सुजिता चिच्याएर बोलिन् “ मैले राम्रो लुगा लगाउने भए भनेर तँलाई रीस उठेको होला । तँ चुप लागेर बस् धेर आरिस नगर् ।”
सुजिताको कुराले सरला छक्क परिन् । उन्लाई नराम्रो पनि लाग्यो । तर चुप लागिन केहि बोलिनन् । कसैले केहि बोल्न सकेन उन्ले त्यो लुगा किनेरै छाडिन् । “यो केटीलाई केही गर्दा नसकिने भयो ।” सुजिताकी आमा बिस्तारै बरबराउनु भयो ।
“घरमा त केहि खान्न लुरीले बाहिर के खाली र ? भनेर गन्थनाउदै सरलाकी आमाले केहि खानेकुरा “हटकेसमा राखिदिनु भयो अनि सरलाको मुखमा पुलुक्क हेर्नुभयो । सरला उता फर्केर मुसुमसु हाँस्तै थिइन् । बाहिर बाट हेरिरहेकि सुजिताले “घरको खाना” भनेर उडाइन् ।
आठ बजे नै स्कुलमा भेला भएर सात र आठ कक्षाका बिध्यार्थीहरु टिचरहरुको साथमा सुन्दरीजल तिर लागे । बाटोमा धेरै मस्ती गरे सबैले । गाडी भित्रै नाँचे गाए पनि ।
मङसीरको पहिलो साता दिउँसो त घाम लागेर ठिकै थियो सबै खेलकुदमा मस्त थिए । साँझ परेपछि चिसो बढ्न थाल्यो । सबैले न्यानो कपडा लगाए । तर सुजिता सङग जालीदार कपडा मात्र थियो । उनि जाडोले “सिउ सिउ” गर्न लागिन् । सीता मिसले किन तातो कपडा नल्याएको भनेर गाली गर्नुभयो । “ मलाई जाडो भएको छैन मिस” भनेर उन्ले ठाडो जवाफ दिइन् । अरु राती अबेर सम्म रमाइलो गरेर बसे । अन्ताक्षरी खेले नाँचे गाए । तर उनि जाडो सहन नसकेर चाँडै स्लिपिङ ब्याग भित्र पसिन् ।
बिहान सबै उठे सुजिता उठिनन् । सरलाले गएर बोलाइन् उनि त ज्वरो आएर इन्तु न चिन्तु पो भएकी रहिछन् । उनि चिसोले लुगलुग काम्दै थिइन् । जिउभरी काँडा उम्रिएका थिए । सरलाले हतार गरेर सुजिताकी आमाले उन्लाई बोक्न दिएको ज्याकेट ल्याएर लगाइदिइन् । हिड्ने बेलामा उहाँले “ यो ज्याकेट बोकिदेउ है ? जाडो हुन्छ पक्कै त्यतिबेला दिनु” भनेर उन्को झोलामा खुसुक्क हालिदिनुभएको थियो ।
टिचर आएर ज्वोरो नाप्नु भयो र औषधी दिनुभयो । रुगा पनि लागेको रहेछ , चिसोको कारणले यस्तो भएको भनेर सबैले भने । सरलाले आफुले बोकेको अर्काे टोपी र मोजा ल्याएर लगाइदिइन् । सबै जना क्याम्पमा हुने कार्यक्रम स्थल तिर गए । तर सरलाले सुजितालाई एकछिन छोडिनन् । बाहिरको खाना खान सक्तीन भनेर आमाले राखिदिएको हटकेसको खाना ख्वाइन् । खेलकुदका कार्यक्रमहरु पनि सब छोडिदिइन् ।
“ मिस म सुजितालाई लिएर घर जान्छु नि ।” सरलाले मीना मिस सँग भनिन् । मीना मिसले भन्नुभयो “ म पनि जान्छु तिमीहरु सित । रोशन सरले गाडीको ब्यबस्था गर्नुहुदैछ । तिमीहरुलाइ मात्र हामी एक्लै पठाँउदैनौ नि ।” नभन्दै उत्तिखेरै सरले गाडी लिएर आइपुग्नु भयो । मिस,सुजिता र सरला घर फर्के ।
सुजिताले बाटोमा सरला सँग माफी माग्दै भनिन् “मेरो जितको कारणले आफूले त केहि गर्न सकिन , तिमीले समेत रमाइलो गर्न पाइनौ मलाई माफी देऊ ल ?” त्यसो भनिरहदा सुजिताको अनुहार लाजले रातो पिरो भएको थियो । “ मैले तिमीलाई के के मात्र भनिन् ” बोल्दा बेल्दै उन्को गला रोकियो । सरलाले “मैले तिमी प्रति त्यस्तो केहि सोचेको छैन ।” तर आफु मात्र जान्ने छु , बलियो छु भनेर कहिले नसोच्नु यति बानी चाँहि तिमीले सुधार । यसो भन्दै सरलाले सुजिताको हात समातिन । अब भने सुजिता उज्याली देखिइन । उनिहरुको कुरा सुनेर मीना मिस मुसुमुसु हास्तै हुनुहुन्थ्यो ।