तुलादानको रकम विद्यालयलाई सहयोग

115

थम्मन थापा
माघ १४, बागलुङ । गलकोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका नाती युवा उद्यमी तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलविर थापाले उक्त रकम सोही ठाउँको प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५ सय ५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने प्रगति बाल विकास केन्द्र मल्मका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो । “अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले भन्नुभयो । उहाँले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गर्नुभयो । बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताउनुभयो । मनकुमारी थापाका नातीहरु वैदेशिक रोजगारीमा रहनुभएका तुलवीर र उहाँका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई रु दुई लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १२३ र बाल विकास केन्द्रमा २३ बालबालिका अध्ययनरत छन् । थापाको गत माघ ८ गते चौरासी पूजा गरिएको थियो ।