कुखुराको दानाको मूल्यमा भारी वृद्धि

198

माघ १५,
भरतपुर । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो ।
तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो । मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताउनुभयो । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकेजी रु १४ मा पाइने मकै तीन महीनाको अवधिमा बढेर रु ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो रु ६५ पुगेको छ । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक रु २५ अर्बको आयात हुने गरेको दाना उद्योग सङ्घले जानकारी दिएको छ । ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा रु १५० बढेर रु तीन हजार १२५ पुगेको छ । यस्तै बिबान दाना रु दुई हजार ८७५ बाट बढेर रु तीन हजार २५ पुगेको छ भने बिटु दाना रु दुई हजार ८२५ बाट बढेर रु दुई हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ । -रासस