भोली देशभरका स्वास्थ्य सेवा ठप्प हुने

135

काठमाडौँ। नेपाल चिकित्सक संघले शुक्रबार देशभरका सवै स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा ठप्प पर्ने घोषणा गरेको छ ।

संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदा समेत सरकारले बेवास्ता गरेकाले माघ १८ गते देशभरका सरकारी, निजी तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘डा. के.सी.को स्वास्थ्यमा गम्भिर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्क्रिय कदमप्रति हामी मर्माहित भएका छौं । आम सर्व साधारण नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्राहीका सम्बन्धमा सरकार मौन रहनु र डा. के.सी.को जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले नेपाल चिकित्सक संघले मिति २०७५ माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ,’ विज्ञिप्तिमा भनिएको छ ।

आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरुमा पर्न सक्ने असुविधाप्रति नेपाल चिकित्सक संघले दुःख व्यक्त गर्दै यो भन्दा पनि कडा कदमहरु चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत संघले नेपाल सरकार समक्ष माग गरेको छ ।

आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको  जिम्मेवार नेपाल सरकार नै हुने संघको चेतावनी छ । -रातोपाटी