पूर्वबाट उपत्यका भित्रिने गाडी मनोहरामै रोक्ने तयारी

131

नयाँ पत्रिका दैनिक/तीर्थराज बस्नेत
माघ १८, काठमाडौं । काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ । पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो । बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी छ । ‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन् । यसले चक्रपथभित्र जाम बढेको छ । मनोहराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने ।

उनी पिक एन्ड ड्रप लागू गर्न महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा बनेको सिफारिस समितिका सदस्य पनि हुन् । पूर्वका गाडीलाई मनोहरामा रोक्न काठमाडौंका सिडिओसहितको टोलीले ठाउँ हेरिसकेर समितिले महानगरलाई सिफारिस गरेको छ । अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ । ती जिल्लाबाट दैनिक भित्रिने चार–पाँच हजार गाडीको चापले कोटेश्वरमा अत्यधिक जाम पर्ने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले पूर्वका गाडी मनोहरामा रोकेपछि भक्तपुरबाट बल्खु जानेलाई करिडोरको प्रयोग गर्ने र पेप्सीकोलाबाट आउनेलाई जडीबुटी पुलमुनि सबवेबाट कोटेश्वर क्रस गराउँदा कोटेश्वरको जाम ३५ प्रतिशत कम हुने बताए ।

पश्चिमबाट आउने मालबाहक गाडी दिउँसो थानकोटमै रोकिने
पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने मालबाहक सवारीसाधन पनि कलंकीबाहिरै रोक्ने योजना ट्राफिक प्रहरीले बनाएको छ । काठमाडौं प्रवेशको मुख्य नाका नै यही भएकाले यात्रु र मालबाहक सवारीको चापले कलंकी अस्तव्यस्त बन्ने गर्छ । मालबाहकलाई दिउँसोको समयमा थानकोटमै रोके जाम घट्ने प्रहरीको अपेक्षा छ । ती गाडीलाई राति ८ बजेपछि चक्रपथभित्र प्रवेश दिने र राति नै बाहिरिनुपर्ने व्यवस्था गर्न लागिएको साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले बताए ।

जनताले रुचाए अन्य ठाउँमा पनि लागू गर्छौँ :  महानगर
१ पुसदेखि खासगरी टुँडिखेलआसपास लागू भएको पिक एन्ड ड्रप जनताले रुचाएको महानगरपालिकाको दाबी छ । प्रवक्ता ईश्वरमान डंगोलले अन्य ठाउँमा पनि यो व्यवस्था लागू गर्न जनस्तरबाटै माग भएको बताए । ‘जनस्तरबाट त्रिपुरेश्वर, माइतीघर, लाजिम्पाट, बानेश्वर, चाबहिललगायत ठाउँमा पिक एन्ड ड्रप व्यवस्था लागू गर्न माग भएको छ,’ डंगोलले भने, ‘समितिले अध्ययन गरिरहेको छ, चाँडै विस्तार गर्छौँ ।’